" />

गुल्मीमा गाडीभाडा घट्ने सपना मात्रै  प्रशासनले तोकेभन्दा तेब्बर भाडा तिर्नुपर्ने

गुल्मी

जिल्ला प्रशासन कार्यालय गुल्मीले विभिन्न सरोकारवाला , राजनैतिकि दलका प्रतिनिधि , पत्रकार लगायतको उपस्थितिमा गएको भाद्र १० गतेबाट लागू हुनेगरी गाडीभाडा घटाएको छ । तर जिल्लामा गाडीभाडा घट्ने सपना मात्रै भएको छ , कार्यान्वयन हुन सकेको छैन । अझैपनि यात्रुहरु पहिले कै भाडादर अर्थात् महङ्गो भाडामा आवातजावत गर्न बाध्य बनेका छन् ।

इस्मा गाउँपालिका वडा नम्बर १ को झर्नाबाट तम्घास आएका शुसिल सिंह ठकुरीले एक सय १० रुपैया भाडा तिरे । उनी बसमा आएका हुन् । झर्नाबाट तम्घास सम्म मात्रै १३ किलोमिटर छ , सडक सबै पक्की छ । प्रशाासनले पक्की सडकको बस र मिनि वसमा प्रतिकिलोमिटर ३ रुपैया तोकेको छ ।  यसैलाई आधार मान्ने हो भने झर्नाबाट तम्घास सम्मको भाडा ३९ रुपैया मात्रै हुन्छ । तर सवारीधनीले प्रशासनको निर्णयभन्दा तेब्बरका दरले भाडा लिएका छन् । तम्घासबाट सिमलटारी सम्म भाडा मात्रै ८० रुपैया हुन जान्छ । तर झर्ना जाँदा सिमलटारीको बल्ल आधा हुन्छ । तर भाडा त्यहि पुगेको ११० तिर्नुपर्दछ ।

बुधबार मात्रै धुर्कोट गाउँपालिकाको वस्तु बाट तम्घास आएकी पार्वता सुनारले गाडीभाडा दुई सय तिरिन् । भदौ नलाग्न सम्म धुर्कोट वस्तुबाट सदरमुकाम आउँदा एक सय ५० तिर्थिन तर भदौ लागेपछि झन् भाडा बढ्यो भन्दै गाडीधनी तथा गाडीचालकले दुई सय भाडा  लिने गरेकोे बताइन् ।

तोके भन्दा तेब्बर भाडा

सदरमुकाम तम्घास बाट धुर्कोट वस्तुको दुरी मात्रै १८ किलोमिटर रहेको छ । सेउघासम्म सडक पक्की छ , त्यहाँबाट भित्र भने ग्राभेल छ । वस्तुसम्म पुग्न मात्रै ३ किलोमिटर कच्ची सडक हिड्नुपर्दछ ।  तम्घासबाट धुर्कोट बस्तु सम्मको दुरीलाई ग्राभेल कै आधारमा भाडा लिएपनि जम्मा ९० रुपैया मात्रै हुन जान्छ । गा्रभेल सडकमा वस र मिनिवसको लागि प्रतिकिलोमिटर ५ रुपैयाका दरले भाडा निर्धारण गरिएको छ । तर सवारीधनी तथा सवारीचालकले प्रशासनले तोकेको  दोब्बर भन्दा बढी भाडा लिने गरेको पाइएको छ ।

त्यस्तै तम्घास सिमलटारी सडकअन्र्तगतको छल्दीखोलाबाट  आएका भक्त बहादुर रजाली मगरले ९० रुपैया भाडा तिरे । उनी वसमा आएका हुन् । छल्दीबाट तम्घास मात्रै १० किलोमिटर छ । तोकिएको रकम ३० रुपैया हो । प्रशाासनले तोकेभन्दा तेब्बर भाडा तिनुपर्दछ । त्यस्तै इस्मा गाउँपालिका ५ हुलाकेबाट टपरी बनाउने पात बेच्न आएकी धनकला कुमालले एक सय १० रुपैया भाडा तिरिन् । उनले भाडा घटेको थाहा नभएको बताइन् । भाडा घट्यो भन्ने त खोई थाहा भएन उनले भनिन् “एक सय २० रुपैया माग्थे मैले त एक सय १० रुपैया दिए ।”

त्यस्तै फूलबारी बाट बस चढेका ठगिश्वर पराजुलीले एक सय ६० भाडा तिरे । अम्मरपूरबाट आएका विष्णु नेपाली र मनिषा महतले पनि १९० रुपैयाका दरले भाडा तिरे । अम्मरपूर जानलाई हुलाकेसम्म पक्की सडक नै भयो , त्यहाँबाट केहि समय कच्ची सडक हिड्नुपर्दछ ।

त्यस्तै सदरमुकाम तम्घास बाट मालिका गाउँपालिकाको अर्खबाङ्ग करिब ४२ किलोमिटर छ । बर्खाको समय बस जाँदैनन् । जीप मात्रै जान्छन् । तम्घासबाट २५ कलिोमिटर सिलादीसम्म सडक पक्की नै छ । बाँकी १७ किलोमिटर सडक कच्ची छ । प्रशासनले जीपको लागि पक्कीमा प्रतिकिलोमिटर ३ रुपैया १५ पैसा का दरले र कच्चीमा प्रतिकिलोमिटर ७ रुपैया २५ पैसा कायम गरिेको छ । यसलाई हिसाब नै गर्ने हो भनेपनि सिलादीसम्म ७८ रुपैया र त्यहाँबाट अर्खबाङ्गसम्म एक सय २३ रुपैया हुन जान्छ । त्यसो त तम्घासबाट अर्खबाङ्गसम्मको भाडा दई सय एक रुपैया हुनुपर्ने हो तर अहिले जीपले भाडा चार सयका दरले लिने गरेको छ । यो भाडा जिल्ला प्रशाासन कार्यालय गुल्मीले तोकेभन्दा दोब्बर हो ।

त्यस्तै मालिका गाउँपालिकाको छापहिले तम्घासबाट करिब ४० कलिोमिटर छ । बस जाँदैनन् , जीपको मनपरी । दिनदिनै भाडा फेरिन्छ । प्रतिब्याक्ति ५०० सम्म पनि  लिन्छन् । तर यसबिषयमा सवारीचालक तथा सवारीधनीको डिजेलको रकम घट्नुपर्ने , गाडीका पाटपूर्जा कम मुल्यमा पाइनुपर्ने र कच्ची सडकको अवलोकन गरिदिनुपर्ने प्रतिक्रिया छ ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले प्रशाासनले तोकेको भाडामा कुनैपनि गाडीलाई छुट नहुने बताए । सरोकारवाला , जनप्रतिनिधि , राजनैतिक पार्टीका प्रतिनिधि ,  पत्रकार लगायत सर्वपक्षिय बैठक बसेर लागु गरिएको भाडा कायम भएरै छोड्छ । उनले भने “प्रशाासनले तोके भन्दा भाडा तलमाथि हुन्न , हामी छड्के अनुगमन गछौँ ।”



Recent News